परापूर्वकालदेखि महिलालाई बोलीले उक्साएर व्यवहारले दबाइयो । यसैले वषाैंदेखि महिला उत्थानको कुरा गरिए पनि महिलाको विकास भएन । 'विकसित र प्रजातान्त्रिक' देशमा पनि पुरुषसमान छैनन् नारी । यसको सीमांकन मूलतः पुरुषवादी मानसिकताले गर्दै आएको छ । यसमा कानुनका धारा र सरकारी निर्णयको प्रभाव न्यून रहेको छ ।
भन्न त नारीलाई सृष्टिकर्ता भनिन्छ तर, व्यवहारमा नारीका हरेक रूप दबित छन् । छोरीले छोराजति अवसर पाउँदिन । श्रीमतीले श्रीमान्जति स्वतन्त्रता पाउँदिन । आमाले बुबाजति बाहिर संसार देख्न पाउँदिनन् । यस्तो विभेद संस्कारकै रूपमा विकसित भएको छ । यस्ता संस्कार फेर्न धेरै छलफल र बहस भएका छन् । सरकारी-गैरसरकारी संस्थाबाट भएका प्रयासको परिणाम पनि प्रभावकारी छैन ।
अचेल गरिबभन्दा गरिब मुलुकमा पनि महिला अधिकारको आवाज उठेको छ । महिलाका लागि समानता र स्वतन्त्रताको माग भएको छ । यसकै निम्ति नियम र कानुन पनि बनेका छन् । तर, पुरुषप्रधान समाज भएको देशमा सबै नीति कागजी खोस्टो मात्र सावित भएका छन् । त्यस्ता समस्याबाट नेपाल पनि अलग छैन । किनभने व्यवहारमा नेपाली महिलाकोे स्थिति पनि अति दयनीय छ । हुन त नेपालको संविधानमा महिला अधिकार छ, व्यवहारमा भने गाउँ-घरका महिला घरभित्र बसे चुलोचौका, घरबाहिर गए घाँसदाउरामा सीमित छन्, एकाधबाहेक । उनीहरूलाई सन्तान र परिवारको लालनपोषणबाहेक अर्काे जिम्मेवारी नै दिइएको छैन । के यसरी नै हुन्छ महिलाको उत्थान ? यस्ता क्रियाकलापले महिलालाई गर्व महसुस गराउँछ, स्वतन्त्रता र समानता दिलाउँछ ? प्रस्नको ताँती छ, तर समाधानको उत्तर छैन ।
दुबोजस्तै मौलाएको टिभी, पत्रिका र एफएममा महिला हिंसाका खबर व्याप्त छन् । दाइजो नल्याइएको दोषमा श्रीमती जलाइनु, बोक्सीको नाममा महिलालाई दिसा-पिसाब खुवाइनु, प्रेम र विवाहको नाममा महिलालाई अलपत्र पारिनु ! यी हाम्रै समाजका बग्रेल्ती समस्या हुन् । प्रश्न उठ्छ, पुरुषलाई चाहिने दाइजो हो कि सक्षम श्रीमती ? महिला बोक्सी भएको वैज्ञानिक प्रमाण छ ? पुरुषबाट महिलाको विजोग हुँदा महिलालाई नै दोष दिनु न्यायसंगत हुन्छ ? यस्ता प्रश्नमाथि प्रश्न उठेका छन्, तर उत्तर खोज्ने काम कछुवाको तालमा छ । हो, महिला आफैँ यी समस्या चिरेर अगाडि आउन सक्ने अवस्था पनि छैन । उनीहरूमाथि ठूलो मनोवैज्ञानिक भार र दबाब छ । प्राचीनकालदेखि नै महिलाभित्र समर्पणभाव भरिएको छ, जसलाई लत्याएर बढ्न खोज्नेलाई गलत नजरले हेर्ने संस्कृति छ । यसकै उदाहरण हुन्, पुरुषको दबदबामा बस्नुपर्ने समुदायको विरोध गर्दा देशनिकाला भएकी बंगलादेशी लेखिका तसलिमा नसरिन ।
अधिकांश पुरुष महिलामाथि महिलाले नै दमन गरेको बताउँछन् । सामान्यतया महिलामाथिको हिंसा र अत्याचार यस्तै दृश्य देखिन्छ । तर, बुहारीलाई अह्रन-खटनमा राख्ने सासूको सोच बनाएको पुरुषले नै हो । महिलामाथि दमन गर्ने महिला त मतियार मात्रै हुन् । छोरालाई सम्मान नगरेको आरोपमा बुहारीलाई दोष देखाउने चिन्तन पनि पुरुषले नै बनाएका हुन् । यस्तो मानसिकता र व्यवहारको अभ्यास महिलालाई सानैदेखि गर्न लगाइन्छ । छोरीलाई आप\mनो खुट्टामा उभ्याउनुको सट्टा बिहे गरेर राम्रो घर गरिखानू भन्ने शिक्षा यसकै उदाहरण हो । यस्तो शिक्षामा महिलालाई श्रीमान्प्रति समर्पित हुनु भन्दै दासी हुने पाठ पढाइन्छ । यही कारण धेरै महिला समस्यामा परेका छन् । समस्या पर्दा कतिले न्यायालयको ढोका ढक्ढक्याए, यसको तथ्यांक छैन । कतिपय यस्ता समस्या कानुनतः समाधानै भए पनि व्यवहारमा भने हल भएका छैनन् । अहिले संविधान निर्माण भइरहेका वेला महिला अधिकारको माग चर्काेसँग उठिरहेको छ । आधा हिस्सा ओगटेका महिला उत्पीडित हुँदा यस्ता माग उठ्नु स्वाभाविकै हो । तर, व्यवहारमा महिलाप्रतिको सोच र दृष्टिकोण फराकिलो भएन भने ऐन-कानुन गौण हुन पुग्छन् । त्यसैले संविधान, कानुन र बोलीमा मात्रै होइन, व्यवहारमा पनि नारीलाई सम्मान र स्वतन्त्रता चाहिएको छ ।



