|
नेपालमा कम्युनिष्ट तथा बामपन्थी शक्तिको संख्यात्मक क्षमता बढिरहेको कुरा पटक पटकको निर्वाचमा प्रकट भएको जनमतवाट समेत प्रष्ट देखिदै आएको हो । सम्पन्न ऐतिहासिक संविधान सभाको राष्ट्रिय निर्वाचनका बेला पनि यो बाम शक्ति देशमा सबैभन्दा ठूलो शक्तिरहेछ भन्ने कुरा पुनः प्रमाणित भएको छ ।
अन्तरिम ब्यवस्थापिका-संसदमै मनोनित सांसदहरुको संख्याले पनि यो कुरा छर्लंग परिरहेकै थियो । तर अर्कोतिर त्यत्तिकै बिडम्बनापूर्ण पक्ष के रहेको छ भने यो बामपन्थी शक्ति अहिले पनि कम्तिमा १० वटा समूहमा बिभाजित रहेको वास्तविकता हाम्रा अगाडि छ । त्यो बिभाजनका बैचारिक, सैद्धान्तिक, राजनीतिक, कार्यनीतिक र बैयक्तिक जेसुकै कारणहरु रहेका भए पनि यी बाम समूहहरु न्यूनतम साझा अग्रगामी राष्ट्रिय कार्यक्रमको आधारमा गोलबन्द हुनसक्ने, हुनुपर्ने र बेला बेलामा हुदै आएको अवस्था पनि कायमै रहेको छ । त्यसरी समय समयमा कार्यगत एकता, मोर्चागत एकता र सहकार्य हुँदै आएको पनि छन् । तर फेरि त्यस स्थितिवाट बिमुख हुने र यो शक्ति छरपस्ट हुने गरेको तीतो यथार्थ पनि पनि हाम्रा अगाडि उपस्थित छ ।
त्यसैले बामपन्थी शक्तिहरुको प्रभाव र संख्यात्मक उपस्थिति निकै ठूलो देखिदै आएको भए पनि यसले आजको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिपेक्षमा एकतावद्ध रुपमा शोषित पीडित नेपाली जनता र राष्ट्रको हितमा जसरी संगठित र क्रियाशील हुनुपर्ने हो त्यसो गर्न सकिरहेको छैन । जुनसुकै सर्न्दर्भमा भनिएको भए पनि यतिवेला कामरेड माओको यो मननीय उक्तिको सम्झना गर्नु सामयिक र आवशयक देखिन्छ । 'एकतावद्ध होऊ, नफूट । खुला र खुलस्त होऊ, जालझेल र षडयन्त्र नगर' । नेपाली राजनीति आमरुपमा र त्यसमा पनि बिशेषगरी बामपन्थी राजनीति पनि यो बिडम्बना पूर्ण जालझेलको स्थितिवाट मुक्त छैन । पारदर्शी, स्पष्ट र खुलस्त छैन । त्यसो भएको हुनाले बढ्दो संख्यामा यसको उपस्थिति र यसको पक्षमा जनमत देखिए पनि यो शक्ति त्यसै खेर गइरहेको अवस्था छ । अतः साँचो अर्थमा नेपाली समाजलाई सामन्तवाद र साम्राज्यवादको शोषण उत्पीडनवाट मुक्त गरेर यो समाजलाई अघि बढाउने हो भने प्रष्ट, अग्रगामी र आमूल परिवर्तनकारी न्यूनतम साझा राष्ट्रिय नीति, कार्यक्रम र बिधिका आधारमा सबै नेपाली बामपन्थी शक्तिहरु एकजुट हुनुभन्दा अरु कुनै उपयुक्त र सही बिकल्प छैन । आजको संक्रमणकालीन ऐतिहासिक घडीमा त यो कुरा अझ टड्कारोरुपमा आवश्यक छ ।
वास्तवमा संविधान सभाको निर्वाचनमा बामपन्थी शक्तिहरुले एउटा मोर्चा बनाएर खडा भएको भए या कम्तिमा पनि आवश्यक तालमेल गरेर जान सकेको भए यसले दुइ तिहाई जनमतलाई आकर्षित गर्न सक्ने रहेछ भन्ने कुरा अहिले आएको जनमतले छर्लंग पारेको छ । देश र जनताले भोग्दै आएका र भोगिराखेका शोषण, दमन, उत्पीडन एबं दैनिक जीवनका यावत समस्याहरुको समाधान खोज्न जनता कत्तिको आतुर रहेछन् भन्ने कुरा पनि नेपाली जनताको संविधान सभामा ब्यक्त भएको जनमतले प्रष्ट पारेको छ । भलै, संबिधान सभा सर्वाङ्गरुपमा सही किसिमले सम्पन्न भएको होला भनेर कसैले दावी गर्न सक्तैन । यसमा कयौं कमजोरीहरु देखा परेका हुन् । तर पनि जुन जनमत आएको छ त्यसले कुनै पार्टी बिशेषलाई कुन स्थान दिएको छ भन्ने कुरा भन्दा पनि जनताले राष्ट्रिय समस्याको सही समाधान खोजेको कुरा यो अहिलेको संविधान सभा सदस्यको निर्वाचनमा ब्यक्त भएको जनताको मतले स्पष्ट पारेको छ । त्यसैले नेपाली बामपन्थी शक्तिहरुको काँधमा अझ गरुङ्गो र चुनौतिपूर्ण जिम्मेवारी नेपाली जनताले संविधान सभा निर्वाचन मार्फत सुम्पिदिएका छन् । यसलाई जिम्मेवार सबै बामपन्थी समूहहरुले अन्त्यन्तै गम्भीरतापूर्वक र सही पर्रि्रेक्षमा ग्रहण गर्न सकेनन् र यो पार्टी बिशेषको जय पराजयको कुरा मात्र हो भन्ने निष्कर्श निकाल्ने र तदनुरुप चल्ने गरे भने त्यसले फेरि पनि नेपाली जनताको आमूल र अग्रगामी परिवर्तनको चीर आकांक्षालाई सही किमिसले मूर्तरुपमा प्रतिनिधित्व गर्न सक्तैन । बामशक्तिले प्रदर्शन गर्नुपर्ने चिन्तन, चरित्र र आचरणको परिपालना पनि हुन सक्तैन र जनता फेरि पनि निराश हुनुपर्ने स्थिति सिर्जना हुन्छ र कायम रहिरहन्छ । यो कुरा बिगतले पनि प्रष्टरुपमा देखाइसकेको छ र फेरि दोहोरिने खतरा पनि त्यत्तिकै रहेको छ । अतः सर्वप्रथम यो दुर्वल चरित्रवाट मुक्त हुनु बामपन्थी समूहरु सबैको साझा कर्तब्य र जिम्मेवारी हो ।
अतः राजतन्त्र लगायतका सामन्तवादका सम्पूर्ण अवशेषहरुलाई अन्त्य गर्दै संघीय गणतन्त्रात्मक लोकतन्त्रलाई संस्थागत किसिमले ब्यवहारिकरुपमा कार्यान्वयन गराउनका लागि सम्पूर्ण बामपन्थी समूहहरु एकाकार भएर जाने बातावरणको सिर्जना गर्नु आजको पहिलो आवश्यकता हो । यसका लागि जनमतद्वारा राष्ट्रिय जिम्मेवारी प्राप्त बामपन्थी दलले सार्थक पहल गर्नु अत्यावश्यक छ । यो राष्ट्रिय आवश्यकता बोधकासाथ एकलकाँटे र संकीर्ण सोचवाट मुक्त भएर एकसाथ अघि बढ्ने दृढ अठोट र संकल्प गर्नु र तदनुरुपको ब्यवहारको प्रदर्शन गरिनु पर्दछ । त्यसो गर्नका लागि राजतन्त्रलाई समूल अन्त्य गर्दै गणतन्त्र स्थापना गर्ने लगायतका साझा जनवादी राजनीतिक मुद्दाहरु, जन जीविकासँग सम्वन्धित खाशगरी जोताहा किसानलाई जमीनको मालिक बनाउने बैज्ञानिक भूमिसुधार, राष्ट्रिय औद्योगिकरण र आम बिद्यूतिकरण जस्ता नेपाली जनताको जीवनमा नयाँ उत्साह र जाँगर पैदा गर्ने आधारभूत कदमहरुका साथै जन राहतका अल्पकालीन र दीर्घकालीन बिषयका ठोस कदमहरु, सामाजिक बिभेदहरु अन्त्य गरिने बिशेष सामाजिक कदमहरु तथा राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकताका समस्या र समाधानका सवालहरुमा केन्द्रित रहेर राज्यको पुनर्रर््सरचना जस्तो नयाँ राज्य प्रणाली र नयाँ शासन प्रणालीको आरम्भ गर्नु पर्ने अन्त्यन्तै गरुत्तर दायित्व बहन गर्न अग्रसर हुनुपर्ने बेलामा सम्पूर्ण गणतन्त्रवादी लोकतान्त्रिक शक्तिलाई समेत एकतावद्ध पारेर लैजानुपर्ने राष्ट्रिय आवश्यकता रहेको छ । यसका लागि सर्वप्रथम, बिश्वासिलो र लचिलो आधारभूमि तयार गर्न छरिएर रहेका बामपन्थी शक्तिहरु न्यूनतम साझा अग्रगामी आमूल परिवर्तनकारी राष्ट्रिय कार्यक्रमका आधारमा एउटै थलोमा खडा हुन सक्नु र खडा हुन सिक्नु पर्दछ ।
नेपालको भविष्य कस्तो हुने भन्ने प्रश्नको जवाफ अब बामपन्थी शक्तिहरुले कस्तो भूमिका खेल्दछन् भन्ने कुरामा निर्भर रहने निश्चित छ । उनीहरुले लिने नीति र प्रदर्शन गर्ने ब्यवहारले अवको देशको राजनीति तस्वीर कस्तो बन्ने भन्ने कुरा भर पर्दछ । नेपाली मजदुर, किसान, महिला, यूवा-बिद्यार्थी, आदिवासी, जनजाति, मधेशी, अल्पसंख्यक, अपाङ्ग, असक्त सबैले अब आप\mना हक अधिकारहरु कसरी संविधान सभाद्वारा बनाइने नयाँ संविधानमा सुनिश्चित गरिने हुन् भन्ने कुरामा ध्यान केन्द्रित गरिरहेका छन् । त्यो एकदमै स्वाभाविक र आवश्यक कुरा नै हो । नेपाली जनतालाई आप\mनो सर्बोच्चता र सार्वभौमिकताको बोध गराउने किसिमको संविधान बनाउनु कम चुनौतिपूर्ण र महत्वपूर्ण कुरा छैन । तर जसरी संविधान सभालाई संसदीय निर्वाचन जस्तो एउटा खेलमा परिणत गर्ने किसिमल हलुकारुपमा लिएर खेलवाड गर्न खोजियो त्यसले भने नेपाली जनतामा खाशै प्रसन्नता पैदा गरेको छैन । अब फेरि सत्ताको लुछाचुडी, बाँडफाँ र घुर्की धम्कीमै समय खेर फालिने हो कि भन्ने सन्देह पनि जनताले गरिरहेका छन् । यी सबै कुरालाई चिरेर एउटा अग्रगामी, आमूल परिवर्तनकारी नयाँ संबिधान बन्छ र त्यसले नेपालको सार्वभौमिकता, अखण्डता र एकतालाई अझ सुदृढ पारेर नेपाली जनताका सबै तह र तप्काका राजनीतिक, आर्थिक, सामाजिक एवं साँस्कृतिक हक अधिकारलाई संबैधानिक सुनिश्चितता प्रदान गर्नेछ भन्ने बिश्वास जनतामा दिलाउन पनि बामपन्थी शक्तिहरु एउटै मोर्चामा रहेर एकै स्वरले बोल्न तत्पर हुनु पर्दछ । यही नै आजको बामपन्थी आन्दोलनले लिनुपर्ने सही र राष्ट्रिय कार्य दिशा हो । आज यसैका लागि पहल र तत्परताको खाँचो छ । अनि यसरी मात्र बामपन्थी आन्दोलनले गुणात्मक फड्को पनि मार्न सक्तछ । |



