मातृभूमीमा बसेर आफ्नो आवश्यक्ता पुरा गर्न नसकेका थुप्रै आङ डोल्माहरु, आफ्नो जीवन संगिनीका जीउ ढाक्न र अबोध बालबालिकाको पेट भर्न धौ धौ भएका टासी, ल्हाक्पा, हर्के, पल्ला घरे र माथ्ला घरे आज तपाई र हामी भएर विदेशिएका छौं । आँगनको डीलमा बसेर परदेशी छोराछोरीको विछोडको पीडामा तड्पेर
आँशुको भल बगाएका वृद्ध वृद्धा बा आमालाई छोडेर झीनो आशाको त्यान्द्रो लिएर हामी विदेशिएका छौं ।
बुढेशकालमा सहरा ठानी आफुले खाई नखाई हुर्काएको छोरा छोरीले डाँडा माथीको जुनको अवस्थामा छोडेर सात समुन्द्र पारी जाँदा कुन बाबु आमाको भक्कानो फुट्दैन र रु यसो गर्नु हाम्रो पनि त रहर होईन । बाध्यताले हामीलाई यस्तो बनाएको हो । झन् त्यस माथि धन कमाउनकै लागि विदेश गएका आफ्नो सन्तानले परदेशमा जेल, नेल र दुःख सहनु परेको कुरा सुन्नु पर्दा त्यस्ता आमा बाबुको अवस्था कस्तो होला रु हो, त्यस्तै भएको छ हाम्रा चेली डोल्माको जीवनमा ।
फिलिपिन्सको सहकर्मी महिलाको हत्याको आरोपमा कुवेतको सरकारी अदालत बाट उनी विरुद्ध मृत्यूदण्डको सजाय सुनाएको सिन्धुपाल्चोककी नेपाली चेली डोल्मा शेर्पा यति बेला अदालतको फैसला संगै मृत्यू पर्खि रहेकी छिन् । सारा विवेकशील नेपालीहरुलाई यस घट्नाले स्तब्ध पारेको छ । डोल्माको जीवन कहानी सुन्ने वितिकै सहानुभुतीको वलिन्द्र धारा आँशु बगाउन थालेका छन् सबैले । हामी सोच्छौं यस्तो कसैलाई पनि नहोस् ।
यो घट्नाले धेरै शंका र उपशंकाका प्रश्नहरु उब्जाएका छन् । के डोल्माले नै गरेकी हुन् त सहकर्मीको हत्या रु उनले काम गरेको घरको सदस्य मध्ये कसैले उक्त महिला माथी यौन दुर्व्यवहार गरि त्यसको हत्या गरेको पनि त हुन सक्छ । त्यस जघन्य अपराध बाट आफु बच्नलाई डोल्माहरु जस्तालाई नक्कली प्रमाणका साथ आरोप लगाएको पनि त हुन सक्छ ।
यदि उनले नै हत्या गरेकी भए त्यसको कारण के थियो त रु यो कुरा थाहा पाउन डोल्मा जहाँ छ त्यहाँ सम्म गएर बुझ्ने प्रयास सम्म कसैले गर्न सकेका छैनन् । यी प्रश्नहरुको जवाफ खोज्ने साहस कसैमा छैन । यदि छ भने देशको सरकार संग मात्रै छ । यस घट्नाले हामी माझ धेरै प्रश्नहरु उब्जाएको छ । यहाँ नीर उनी दोषी भए पनि नभए पनि कुवेतको अदालत बाट जो फैसला गरिन्छ त्यसैलाई निर्वाद गला थाप्नु पर्ने छ ।
के देशको सरकारले सिड मनी चार लाख दिंदैमा विदेशमा मृत्यूदण्ड दिन लागेका आफ्नो नागरिक प्रतिको जिम्मेवारी पूरा भयो रु आफ्नो नागरिकको जीवन रक्षाको लागि त्यो भन्दा अर्को केहि पहल गर्न सक्दैन देशको सरकारले रु नेपाल सरकारको तर्फ बाट आफ्नो नागरिक माथी लगाएको आरोप झुट्टा हो होईन बुझ्ने अधिकार छैन रु किन चुपचाप छ सरकार रु किन चुपचाप छ स्वदेशमा रहेका नेपाली जनता रु के डोल्मा प्रवासीहरुको मात्रै चेली हो रु डोल्मालाई बचाउन स्वदेशमा रहेका नेपालीहरुले किन पहल गर्दैनन् रु
यदि साँढे दुई करोड नेपालीले पच्चीस पैसाको दरले मात्रै सहयोग गरे पनि बैसठ्ठी लाख रुपैयाँ उठ्छ । स्वदेशमा रहेका नेपालीहरुले मृत्यूदण्डको घडी पर्खेर बसेको डोल्माको जीवन बचाउने बिषयमा किन गम्भीर भएर सोचेको छैन रु प्रवासमा रहेका नेपालीहरुले उनको जीवन रक्षाको लागि आफुले सक्ने सहयोग गरि सकेका छन् । अपसोच, उता डोल्माको गला रेट्दै छ । अबको केहि दिन मात्रै ढिला भएमा हामी कहाँ पछुतो र आँशु शिवाय केहि बाँकी रहन्न । डोल्माको जीवन त गैहाल्छ नै तर हामी जीवित् रहेकाहरुको पनि कुनै अर्थ रहने छैन । हामी आत्माग्लानी र पश्चातापले जलेर खाक हुने छौं ।
डोल्मा त एउटा उदाहरण मात्रै बनेकी छिन् । यसरी प्रवासमा घरायसी कामदारको रुपमा काम गर्ने कैयौं नेपाली डोल्माहरु बन्धकको रुपमा काम गर्न विबस् छन् । जसको व|mन्दन चार दिवार भन्दा बाहिर आउन सक्दैन । विभेदपूर्ण सामाजिक संरचना र घरेलु हिंसाको दलदल बाट शिथिल हाम्रा समाजका महिलाहरुको जीवन कथा बैदेशिक रोजगारमा अति नै दर्दनाक छन् । विशेष गरि खाडी मुलुकमा काम गर्न गएका घरायसी कामदार महिलाहरु बढि पीडित् भएको पाईन्छ । किन कि यस क्षेत्रका मुलुकहरुमा महिलाहरुलाई खुलेर समाजमा हिड्न बर्जित् छ । आफूले काम गरि बसेको घरको सदस्य बाहेक अन्य संगको सामान्य सम्पर्क समेत निशेधित् छ । यो उनीहरुको धार्मिक नियम हो । यसमा कसैले विरोध गर्ने अधिकार हुँदैन ।
उनीहरुको घरमा घरायसी कामदारको रुपमा काम गर्ने महिलाको स्थिति कस्तो छ, त्यो बुझ्न कसैलाई अनुमति छैन । त्यस्ता घर भित्र महिला विरुद्ध के कस्ता कृयाकलाप भैरहेका हुन्छन्, कसैले बुझ्न पाउने अधिकार छैन । उनीहरु प्रति जघन्य अपराध भए पनि आँशुको खोलो पिएर सहनु बाहेक अरु उपाय छैन ।
आर्थिक शोषण, यौन शोषण जस्ता अन्याय एवं अमानवीय व्यवहार हुन गएको खण्डमा समेत मदत गर्न सक्ने औकात कसैमा हुँदैन । जसरी अहिले हाम्रा नेपाली चेली डोल्मा शेर्पाले कुवेतको जेल भित्र बसेर आफ्नो ईहलीला समाप्तीको दिन पर्खि रहेकी छिन् । जसरी हुन्छ उनलाई बचाउनु तपाई हाम्रो कर्तव्य हो ।
अब अन्य नेपाली चेलीहरुले पनि खाडी मुलुकको रोजगारमा गएर धन कमाउने सपना देख्नु भन्दा पहिले भोलीका दिनहरुमा वास्तविकता भएर आउने चुनौतीहरुलाई मनन् गरेर मात्र विदेश पस्नु उचित होला ।



